कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार

काठमाडौँ, ७ भदौ:नेपाली कांग्रेसले तोकिएको समयमा महासमिति बैठक गर्न नसकेपछि त्यस विषयमा थप छलफल गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बैसाखमा भएको केन्द्रीय कार्यसमितिको बैठकमा भदौमा महासमितिको बैठक बोलाउने निर्णय गरिएको थियो। बैठकको निर्णय तोकिएको समयमा कार्यान्वयन नभएपछि केन्द्रीय समितिको बैठक डाकिएको छ। चार महिनाअघि गरिएको निर्णय कार्यान्वयन हुन नसकेपछि संस्थापनइतर समुह सभापति शेरबहादुर देउवासँग आक्रोशित बनेको छ।

बैठकमा पेश गर्नुपर्ने विधान मस्यौदा प्रस्ताव तयार हुन नसकेपछि महासमितिको बैठक निर्धारित समयमा नहुने देखिएको छ। विधान मस्यौदा समिति ९ सदस्यीय हुने भनिए पनि भागवन्डा मिलाउनका लागि ११ सदस्यीय बनाइएको छ। अनौपचारिक रुपमा मस्यौदा समितिका सदस्यहरुको नाममा भने ३ साता अघि नै सहमति भएको थियो।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनेको समितिमा संस्थापन पक्षले बहुमत सदस्य राखेको छ। संस्थापन समूहबाट खड्काको साथै फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, महालक्ष्मी उपाध्याय (डिना), सिता गुरुङ र रमेश लेखक परेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबाट ५ जनाले प्रतिनिधित्व गरेका छन्। पौडेलको समुहबाट ४ जना परेका छन् भने सिटौला समुहबाट १ जनाले प्रतिनिधित्व गर्ने भएका छन्।

स्थापनइतर समूहबाट डा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुगांना, नविन्द्रराज जोशी र प्रदिप पौडेल परेका छन्। रिजाल दुबै समुहका मध्यस्थकर्ताको भूमिकामा देखिँदै आएका छन्। यसअघि ९ सदस्यीय समिति बन्ने बताइए पनि संस्थापनपक्ष अल्पमतमा परेपछि संस्थापन पक्षको जोडमा ११ सदस्यीय बनाइएको थियो।

समितिलाई विधान बनाउनका लागि १ महिनाभन्दा बढीको समय लाग्नुका साथै प्रस्तावित विधान माथि सुझाव पनि संकलन गरिने हुँदा भदौमा महासमितिको बैठक नहुने सम्भावना बढेको छ।

देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्मा भदौमा महासमितिको बैठक सम्भव रहेको बताउँछन्। विधान मस्यौदा समितिलाई भदौमा महासमितिको बैठक हुने गरी काम सक्न सभापतिबाट निर्देशन भएको उनले बताए।

संस्थापनइतर समूहले महासमिति बैठकलाई सार्नुको उद्धेश्य सभापतिको कार्यकाल बढाउने प्रपञ्च भएको आरोप लगाएको छ। विधानअनुरुप नेपाली कांग्रेसको महासमितिको बैठक प्रत्येक वर्ष हुनुपर्छ। १३औं महाधिवेसन सकिएको अढाई वर्ष हुन लाग्दासमेत महासमितिको बैठक बस्न सकेको छैन। महासमितिको बैठक पछि धकेल्नुलाई संस्थापनइतर समूहले सभापतिले एक वर्ष कार्यकाल बढाउन खोजेको ‘प्रपञ्च’का रुपमा बुझेको छ। कांग्रेस विधानमा ४ वर्ष भित्र महाधिवेसन हुन नसके एक वर्ष थप्न सकिने प्रावधान रहेको छ।

कांग्रेसको प्रादेशिक संरचनाअनुसारको विधान नहुँदा जिल्ला, क्षेत्र र प्रदेशमा संगठन बन्न सकेका छैनन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठक महासमिति बैठकको मिति र विधानका विषयमा केन्द्रित हुने बताए।

अर्कोतर्फ महाधिवेसन सकिएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभागहरु हालसम्म गठन हुन सकेको छैन। कांग्रेसमा ४२ वटा विभाग नेतृत्वविहिन छन्। सभापति देउवा पक्षले पूर्व सभापति सुशील कोइरालाले आफ्नो कार्यकालको अन्तिममा मात्रै विभाग गठन गरेको भन्दै सोही नजिर देखाउने गरेको छ। प्रवक्ता शर्माले गठन हुन नसकेका विभागका विषयमा पनि शुक्रबारको बैठकमा छलफल हुने बताए। बैठक शुक्रबार बिहान ११ बजेका लागि बाेलाइएकाे छ। news by nepallive

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here