काठमाडाैं,१५ नेपाली कांग्रेसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुंगो आजै लगाउने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा जारी संसदीय समितिको बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने भएको हो ।
अधिकांश जिल्लाका उम्मेदवारको अन्तिम सूची तय भइसकेको र बाँकी जिल्लाका उम्मेदवार आजको बैठकले टुंग्याउने कांग्रेस नेता तथा संसदीय समितिका सदस्य एनपी साउदले जानकारी दिनुभयो ।
यसैबीच, नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूबीच तालमेलका लागि बैठक जारी राखेको छ । तालमेलका लागि बनेको कार्यदलले लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूसँग वार्ता गरी तालमेल गरी टुंगोमा पुग्न दैनिकजसो वार्ता जारी राखेको हो ।
आवश्यकता र हैसियत अनुसारको तालमेलका लागि कांग्रेसले गठबन्धनमा आबद्ध दलहरू बीचको संवादलाई जारी राखेको कांग्रेस नेता रमेश रिजालले जानकारी दिनुभयो । लोकतान्त्रिक गठबन्धनमा राजपा, संघीय समाजवादी फोरम, राप्रपा प्रजातान्त्रिक र नयाँशक्तिबीच तालमेल हुने सम्भावना छ ।
केही स्थानमा कांग्रेसले तालमेलको टुंगो समेत लगाइसकेको छ । तर गठबन्धनमा आबद्ध संघीय समाजवादी र राजपासँगको तालमेलबारे भने अझै टुंगो लागेको छैन । कांग्रेसले प्रदेश २ का केही स्थानमा मात्र राजपा र संघीय समाजवादीसँग तालमेल गर्ने रणनीति बनाएको छ ।

