काठमाडौं,२० बैशाख–प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग गर्दै नेपाली कांग्रेसले अवरोध गरेपछि २ नम्बर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
अस्थायी मुकाम जनकपुरमा आज बसेको बैठकको सुरुमै नेपाली कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुसवाहले प्रमुख प्रतिपक्षीको मान्यता आफूहरुले पाउनु पर्ने अडान राख्नुभएको थियो । कांग्रेसले प्रमुख प्रतिपक्षीको मान्यता नपाएसम्म सदन चल्न नदिने अडान लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
कुसवाहले दुई महिनामा २४ वटा बैठक सम्पन्न हुँदा पनि सत्ता र शक्तिको आडमा प्रमुख प्रतिपक्षी नतोकिएको आरोप लगाउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी विना सदनको कल्पना सम्म गर्न नसकिने भन्दै तत्काल निर्णय गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ ।
मुख्यमन्त्री निर्वाचनमा एमालेले फोरम र राजपालाई समर्थन गरेकाले प्रमुख प्रतिपक्षीको मान्यता आफुहरुले पाउनु पर्ने कांग्रेसको तर्क छ । सत्तारुढ दल भने नियमावली मस्यौदाकै क्रममा रहेकाले तत्काल निर्णय आवश्यक नरहेको बताउंदै आएका छन् ।

