काँग्रेस र नयाँ शक्ति पार्टीका कारण प्रदेश ४ को बैठक अबरुद्ध

पोखरा, २१ वैशाख-प्रदेश नं ४ मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्षी नयाँ शक्ति पार्टीले आज प्रदेशसभा अवरुद्ध गरेका छन् ।

बैठकको शुरुआतमा नै प्रतिपक्षी दलका सदस्य आआफ्ना स्थानबाट उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बोल्न समय दिएपछि नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य कुमार खड्काले रातो किताबमा सरकारको वार्षिक कार्यक्रम हेर्दा बजेटले प्रदेशलाई उन्नतिभन्दा पनि आर्थिक अनियमितताको बाटामा लैजाने देखिएको बताउनुभयो ।

सानो समयको सानो रकमको बजेटका लागि दु्रतमार्गबाट जानुपर्छ भन्ने सत्तापक्षको आग्रहलाई मान्दै नियम निलम्बन गर्न सहयोग गर्दै बजेट ल्याइए पनि सरकारले ल्याएको बजेटमा रातो किताबमा केही गम्भीर त्रुटि देखिएको उहाँले बताउनुभयो ।

संसद् अवरुद्ध गरेपछि पत्रकारसँगको भेटमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ‘सरकारले आर्थिक अनियमिततालाई प्रश्रय दिने किसिमले रातो किताबमा विभिन्न शीर्षकमा मनोमानी तवरले बजेट विनियोजन गरेकाले’ प्रदेशसभा अवरुद्ध गर्नुपरेको बताउनुभयो । नयाँ शक्तिका हरिशरण आचार्यले प्रदेशसभाको शुरुआतदेखि नै सत्तापक्ष गैरजिम्मेवार भइरहने र प्रतिपक्ष जिम्मेवार हुनुपर्ने अवस्थाबाट गुज्रिरहेको बताउनुभयो ।

संसदीय प्रक्रिया विपरीतः सरकार 
प्रदेशसभालाई प्रतिपक्षले अवरुद्ध गरेसँगै सरकारले आजै पत्रकार सम्मेलन गरी प्रतिपक्ष गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यव्यवस्था परामर्श समितिमा कुनै विवाद नभई कार्यसूची तय भइसकेका अवस्थामा संसदीय अभ्यासविपरीत प्रतिपक्षले प्रदेशसभा अवरुद्ध गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here