काठमाडौँ, १९ असार- नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था कमजोर हुने बताउनुभएको छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र स्थापना, गिरिजाप्रसाद कोइरालाको नेतृत्व र युवा विद्यार्थीको भूमिका’ बिषयक कार्यक्रममा उहाँले भन्नुभयो, “संसदीय व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउनका लागि संसद्मा काँग्रेस बलियो प्रतिपक्षका रुपमा उभिनुपर्दछ ।”
नेता सिटौलाले भन्नुभयो, “काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था नै कमजोर हुन्छ, संसदीय व्यवस्थालाई बलियो बनाउन काँग्रेस सशक्त हुनुपर्छ ।”
संसदीय समितिको लोभमा काँग्रेस लत्रिन नहुने भन्दै उहाँले संसदीय व्यवस्था बलियो बनाउने जिम्मा काँग्रेसको भएको बताउनुभयो ।
नेता सिटौलाले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था संविधानले नै गरेको भन्दै सो विषयमा समेत काँग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

