नुवाकोट , १८ चैत । नेपाली काँग्रेसले जिल्लामा गाउँपालिका र नगरपालिकामा पार्टीका संयोजक र सहसंयोजक तोकेको छ ।
काँग्रेसका जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा आज सदरमुकाम विदुरमा बसेको जिल्ला समितिको बैठकले जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा संयोजक तोकेको हो ।
सोअनुसार विदुर नगरपालिकाका संयोजकमा नेत्रप्रसाद ढकाल र बेलकोटगढी नगरपालिकामा गोकुलप्रसाद दाहाललाई पार्टीको नगरसंयोजक तोकिएको छ । यस्तै दुप्चेश्वर गाउँपालिकाका संयोजकमा इन्द्रबहादुर पाण्डे, तादीमा नारायण पाण्डे, पञ्चकन्यामा बैकुण्ठ खनाल, सूर्यगढीमासन्तबहादुर घले, शिवपुरीमा प्रेमबहादुर थापा, ककनीमा सुप्पोल लामा, लिखुमा पर्शुराम लामिछाने, तारकेश्वरमा होमबहादुर तामाङ, मेघाङमा सिंहराज तामाङ र किस्पाङमा रणबहादुर तामाङलाई तोकिएको काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।
केन्द्र परेको साबिकका गाविस र नगरपालिकाभन्दा बाहेकका अन्य गाविस र नगरपालिकाका सभापति अहिलेको गाउँपालिका र नगरपालिकामा सहसंयोजकको जिम्मेवारीमा रहने जिल्ला सचिव अधिकारीले जानकारी दिनुभयो । रासस

