काँग्रेसले एकैदिन चार विषयमा टुङगो लगायो, आजपनि बैठक जारी

काठमाडौं, १४ चैत–नेपाली काँग्रेसको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले पहिलो दिन चार विषयको टुङ्गो लगाएको छ ।  ललितपुरको सानेपास्थित बीपी कोइराला स्मृति भवनमा बसेको बैठकले केन्द्रीय कार्य सम्पादन समिति, केन्द्रीय निर्वाचन परिचालन समिति, निर्वाचन घोषणापत्र तयारी समिति गठन गर्नुका साथै कार्य सम्पादन समितिलाई थप अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको पार्टी सचिवालयले जानकारी दिएको छ ।  कार्य सम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव रहनुहुनेछ ।
त्यस्तै समितिमा रहने अन्य केन्द्रीय सदस्यहरू पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद हुनुहुन्छ ।
पार्टीमा हाल पदाधिकारीका रूपमा सभापति, महामन्त्री, कोषाध्यक्ष मात्र हुनुहुन्छ भने उपसभापति, महामन्त्री, सहमहामन्त्री र प्रवक्ता नियुक्त गर्न बाँकी छ ।
पार्टीकोे विधान अनुसार केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्न सक्नेछ ।  त्यसमा केन्द्रीय कार्य समितिको उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्यका रूपमा रहने व्यवस्था छ ।  त्यस्तै, उक्त समितिमा संसदीय दलका नेता पनि सदस्यका रूपमा रहने व्यवस्था छ ।
केन्द्रीय कार्य समितिको बैठक बस्न नसकेको अवस्थामा केन्द्रीय कार्य समितिले गर्ने काम कार्य सम्पादन समितिले गर्नेछ ।  कार्य सम्पादन समितिले गरेको काम केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था पार्टीको विधानले गरेको छ ।
कार्य सम्पादन समितिलाई समय–समयमा संसदीय दलको कार्य समिति, संसदीय दलका विषय समितिका संयोजकहरूसँग संयुक्त विचार विमर्श आयोजना गर्ने अख्तियारी पनि
दिइएको छ ।
त्यस्तै, बैठकले पार्टीमा यसअघिकै ४२ वटा विभाग कायम राख्ने निर्णय पनि गरेको छ तर आवश्यकता अनुसार विभागको सङ्ख्या थप्न सकिने निर्णय गरिएको छ ।
बैठकले नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।  त्यस्तै, महेश आचार्यको संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको पार्टी सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।  बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रहनुभएका नेता विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग राजनीतिक सहमतिका विषयमा भएका छलफल र प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र नेपाल जनमत सङ्ग्रहद्वारा टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रूपमा दर्ता गराउनुभएको छ । उहाँले नेपाललाई बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्मनिरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन नमिल्ने भन्दै बैठकमा छलफलका लागि उक्त विषय प्रस्तुत गर्न माग गर्नुभयो । महाधिवेशनमा सबैभन्दा बढी मत ल्याउनुभएका नेता शेखर कोइरालाले पार्टीमा वरिष्ठताका आधार के हुने भन्ने प्रश्न गर्नुभएको थियो ।

काँग्रेस बैठक आजपनि
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै छ। लामो समय पछि हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्ने छन्।
बिहान साढे आठ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संविधान संशोधन, स्थानीय निकायको निर्वाचन, विभाग गठन, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा नेताहरुले आ–आफ्नो धारणा राख्ने केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिनुभयो।
बैठकमा केन्द्रीय कार्य सम्पादन समिति, केन्द्रीय निर्वाचन परिचालन समिति, निर्वाचन घोषणापत्र तयारी समिति गठन गर्नुका साथै कार्य सम्पादन समितिलाई थप अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ। हिजो बसेको बैठकले पदाधिकारीसहित २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो।