जनकपुर, ३१ चैत– नेपाली काँग्रेसले आज जनकपुरमा प्रदेश नं २ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने भएको छ । स्थानीय निकायको निर्वाचनलाई लक्षीत गर्दै काँग्रेसले विभिन्न स्थानमा चुनावी सुभा गर्दै आएको छ ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा हुने सभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हिजो पोखरामा सभा आयोजना गरेको काँग्रेसले आज मध्यान्ह जनकपुरमा सभाको आयोजना गरेको छ । जनकपुरसभाका लागि हिजो नै नेताहरु जनकपुर प्रस्थान गरेका थिए ।
काँग्रेसले जनकपुरमा हुने सभामा स्थानीय निकायको निर्वाचनले सबै समुदायको प्रतिनिधत्व गर्ने भन्दै निर्वाचनमा सहयोग गर्न आग्रह गर्ने बुझिएको छ ।
काँग्रेसले आफ्नो पहिलो सभा कैलालीको अत्तरिया, दाङको तुलसिपुर, भैरहवा र पोखरामा सम्पन्न गरिसकेको छ । काँग्रेसले वैशाख २ गते झापामा चुनावी सभा गर्ने निर्वाचन परिचालन समितिले जनाएको छ ।

