काँग्रेसमा महिला सहभागिता कति ? यस्तो भन्छन् नेताहरु

काठमाडौँ, ६ साउन-नेपाली काँग्रेसभित्र महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल महिला संघ काठमाडौँ शाखाले विश्वेश्वरप्रसाद कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाल महिला संघको भूमिका’ विषयको विचार गोष्ठीका वक्ताले पार्टीभित्र महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपी कोइरालाको पहिलो सरकारमा द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएर नारीको सम्मान गरेको बताउनुभयो । नेपालको राजनीति परिवर्तनमा महिलाको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेसको संगठनलाई वडास्तरसम्म पु¥याएर वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले महिलालाई अगाडि बढाउनुपर्छ भन्ने भावना स्व विपी कोइरालामा भएको बताउनुभयो । “पार्टीले महिलालाई उचित स्थान दिन सकेको छैन, आगामी दिनमा पार्टीले यसबारे निर्णय गर्नेछ”–उहाँले भन्नुभयो । आफू महिलाको मतबाट विजयी भएको भन्दै आगामी दिनमा महिला हक अधिकारका लागि लड्ने उहाँको भनाइ थियो ।

काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले पार्टी र संसदभित्र महिला सहभागीता विस्तारै विकास हुँदै गएको बताउनुभयो । “मंगलादेवी सिंह, नोना कोइराला, शैलजा आचार्यलगायतको योगदानले उक्त कुरा सम्भव भएको हो,”–उहाँले भन्नुभयो ।

काँग्रेस नेता डा रामशरण महतले महिला सशक्तीकरण र जागरणका लागि काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “संसद्मा एकतिहाई महिलाको प्रतिनिधित्व हुनुपर्छ भन्ने अडान काँग्रेसको हो,”–उहाँले भन्नुभयो ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले महिला शक्ति बलियो नभएसम्म पार्टी र मुलुक बलियो हुन नसक्ने बताउनुभयो । गाउँगाउँसम्म महिला जागरण लैजानु जरुरी रहेको उहाँले बताउनुभयो ।

काँग्रेस नेता धनराज गुरुङले विपीको मार्गदर्शन काँग्रेसले शीरोधार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सांसद भीमसेनदास प्रधानले संविधान निर्माणमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here