सुर्खेत, १६ असार-कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् ।
विनियोजन विधेयक अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि आज भएको दफावार छलफलमा प्रदेशसभा सदस्यहरूले नीति, कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको टिप्पणी गरेका हुन् ।
छलफलका क्रममा सभाका सदस्य अमरबहादुर थापाले कर्णाली प्रदेश सरकारले सुझावको उपेक्षा गरेको भन्दै कार्यशैली सुधार गर्न आग्रह गर्नुभयो । “बजेट भाषण र रातो किताबको तालमेल भएन, बजेटले बोलेका कुरा रातो किताबमा आएनन्, सीमित व्यक्तिका खल्तीबाट योजना आए” उहाँले भन्नुभयो । नेता, मन्त्रीका खल्तीबाट योजना छानिएको भन्दै उहाँले कर्णाली प्रदेश सरकारले प्रकाशित गरेको रातो किताब नमान्ने चेतावनी दिनुभयो ।

