काठमाडाैं,१२ असाेजः नेपाली बिरामीहरुलाई ‘कमिशन’ का लागि अनावश्यक रुपमा भारतीय अस्पतालहरुमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टहरुलाई कारवाही गर्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सरकारलाई आग्रह गरेको छ ।
कमिशनकै लागि भारतीय अस्पतालहरुमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले सुझाव दिएको छ। नेपाली दूतावासले कमिशनकै कारण नेपाली बिरामीहरुलाई अनावश्यक रुपमा भारतका क्लिनिक, नर्सिंग होम र अस्पतालहरुमा ‘रिफर’ गरिने गरेको ठहर गर्दै त्यसरी ‘रिफर’ गर्ने व्यक्ति तथा संस्थालाई कारवाहीका प्रक्रियाका लागि सिफारिश गरेको हो।

