कप्तान पारसको टोली विराटनगरको लगातार चौथो जित

काठमाडाैं, ८ पुस – विराटनगर वारिवर्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपील) क्रिकेटमा लगातार चौथो जित निकालेको छ । शनिबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले लगातार चौथो जित निकालेको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १८ ओभर ३ बलमा अलआउट हुँदै ११४ रन मात्र जोड्न सक्यो । भैरहवाका लागि प्रदीप एरी र हरिशंकर साहले समान १८ – १८ रन जोडे । त्यस्तै पुनित बिष्टले १५ तथा भुवन कार्कीले १२ रन जोडे । विराटनगरका अविनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४९ रन बनाएको थियो । विराटनगरका लागि अंशुमान रथले अर्धशतकीय पारी खेले । रथले ५० बलमा ५७ रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै, बाबर हायातले ३६  रन जोड्दा तथा कप्तान पारस खड्काले १५  रन बनाए  ।  प्रनित थापा मगरले १४ रन जोड्दा करण केसी ११ रनमा अविजित रहे । भैरहवाका हरिशंकर साहले  ३ तथा आरिफ शेखले २ विकेट लिए ।

यो जितसँगै विराटनगर ४ खेलबाट ८  अंक जोडेर लिगको शिर्ष स्थानमा रहेको छ । पराजित भैरहवा लिगको तेस्रो स्थानमा रहेको छ । तीन खेलमा पहिलो हार बेहोरेको भैरहवाले ४ अंक जोडेको छ  ।

राउन्ड रोविन लिगका आधारमा जारी लिगको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here