कडा सुरक्षाबीच सिके रावतको राष्ट्रिय परिषद दोस्रो दिनमा , खाना, खाजा र चिया भित्रै

सिरहा,४ चैत ।  सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठकमा आज दोस्रोदिन पार्टीको प्रस्तावमा छलफल हुँदैछ । हिजो(आइतबार)को बैठकमा सहभागी परिषद् सदस्यले राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिलाई सही र सकारात्मक भएको भन्दै स्वागत र समर्थन जनाएका छन् । आज पार्टीको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
पार्टीको रुपमा जाने विषय र आगामी कार्यदिशा के हुने भन्ने बारे छलफल केन्द्रीयत भएको परिषद् सदस्य सुदिपराज कुशवाहाले जानकारी दिनुभएको छ । परिषद् बैठकमा पार्टी प्रस्ताव भएको विषयमा फेरि केन्द्रीय परिषदमा छलफल भने कार्यसुची रहेको छ ।

दुईदिने बैठकमा जनमत संग्रहको विषयमा कुनै चर्चा नभएको बताइएको छ । ११ बुँदे सहमतिमै छलफल भएको र जनमत संग्रहको बारेमा सहभागी सदस्यले आफ्नो धारणा राख्ने क्रममा कसैले प्रश्न नउठाएको एक नेताले बताए । बैठकमा २२ जिल्लाका २ सय परिषद सदस्यहरु सहभागी छन् । सबैलाई नागरिकता लिएर आउन आग्रह गरेको थियो । बैठकमा प्रवेश गर्ने क्रममा नामावलीअनुसार नागरिकतामा नाम मिलाएर प्रवेश गराइएको थियो ।
नामावलीमा नाम नहुने समर्थकलाई पनि प्रवेश गराइएको छैन् । सदस्य पहिचानका लागि नागरिकता अनिवार्य गरेको भनिएको छ तर, निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा सदस्यको नागरिकता नम्बर चाहिने भएकाले यस्तो गरेको हुनसक्ने अनुमान छ । बैठकमा प्रहरी र पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सदस्यलाई मोबाइल पनि निषेध गरेको छ । बैठकमा आउने सदस्यलाई सीके राउतका कार्यकर्ताले चेकजाँच गरिरहेका छन् ।

सशस्त्र र नेपाल प्रहरीको टोली बाहिर सुरक्षा दिइरहेका छन् । आज अबेर साँझ सम्म चल्ने बैठकमा सहभागीलाई हिजैदेखि बाहिर निस्किन दिएको छैन् । उनीहरुको लागि चिया, खाजा र खाना भित्रै व्यवस्था गरिएको छ । गठनबन्धनका संयोजक राउतले राममनोहर यादवको तस्बिरमा अबिर र माल्यार्पण गरेका थिए ।

सरकारसँग सहमति हुनुभन्दा अघि गठबन्धनले प्रयोग गर्दै आइरहेको तुल, झण्डा र ब्यानर प्रयोग गरेका छैनन् । यस भन्दाअघि लहान आउँदा सीके राउतले मधेश आन्दोलनको क्रममा प्रथम सहिद भएका रमेश महतोको शालिकमा माल्यापर्ण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here