कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले मागे सुरक्षा !

कञ्चनपुर, २० मङ्सिर । निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् ।

बिहानदेखि स्वास्थ्य सुधारका लागि स्थानीय बासिन्दाको घरदैलोमा पुग्ने महिला स्वयंसेविकाले सेवा भावनाले काम गर्दै आए पनि बाँच्नका लागि आर्थिक अभाव खेप्न बाध्य छन् । बिहानै एक छाक खाना खाएर सामाजिक कार्यका लागि घरबाट निस्कने कञ्चनपुर शुक्लाफाँटाका महिला स्वास्थ्य स्वयंसेविका पुष्पा केसीले भन्नुभयो, “साँझ पर्दा रित्तो हात घर फर्कंन्छौँ । हाम्रो पनि परिवार छ । खान लाउन पर्छ, त्यसका लागि सरकाले व्यवस्था गरिदिनु पर्छ ।”

स्वास्थ्यका क्षेत्रमा समाजले कोल्टे फेरे पनि अझै महिला स्वास्थ्य स्वयंसेविकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको उहाँको गुनासो छ । “महिला स्वयंसेविकाका लागि पैसा छुट्याउनु हुँदैन भनेर स्थानीय तहकै जनप्रतिनिधिले भन्ने गरेका छन्,” उहाँले भन्नुभयो, “प्रोत्साहनका लागिसमेत रकम नपाउने भए सामाजिक क्षेत्रमा खटन गाह्रो छ ।”

“परिवार नियोजनका अस्थायी साधन बोकेर स्थानीय बासिन्दाको घरदैलोमा पुग्दा समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ,” स्वयंसेविका राजु रानाले भन्नुभयो, “जनसङ्ख्या नियन्त्रण गर्ने र सुखी परिवार बनाउनका लागि गरेको कार्य हेरिँदैन । समाजमा जनचेतना फैलाउने कार्यले स्वास्थ्यप्रतिको जागरुकता बढेको हेरिँदैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here