कक्षा ११ को परीक्षा सुरु, परिक्षाकालागि सुरक्षा व्यवस्था कडा

काठमाडौं,२९ बैशाख । यस वर्षको कक्षा ११ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

परीक्षा बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा बिहान ७ बजेबाट सुरु भएको जानकारी दिनुभयो । यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएका छन् । जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ ।

परीक्षामा सबैभन्दा कम मनाङ जिल्लाबाट ५१ जना र सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको छ । परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिएको छ ।

यस्तै, परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ । गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ परीक्षामा त्यस्तो त्रुटी नहोस् भनि परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरेको छ ।

बोर्डले केन्द्रमा प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ । बोर्डको मुख्यालयमा रहेको कन्ट्रोल रुमबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने समेत व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here