बलिउड क्विन कंगना रनावतको हालै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ले बक्स अफिसमा राम्रो कारोबार गर्यो । उनै कंगनाले तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको बायोपिक फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने भएकी छन् । यही फिल्मसँग जोडिएको अर्को एउटा खबर पनि सार्वजनिक भएको छ । कंगनालाई यो बायोपिक फिल्मका लागि २४ करोड भारु पारि श्रमिक अफर गरिएको छ ।
रिपोर्टअनुसार कंगनालाई अफर गरिएको यो पारि श्रमिकसँगै उनी बलिउडकी सबैभन्दा महँगी अभिनेत्रीको सूचीमा गनिएकी छन् । कंगनाअघि दीपिका पादुकोण यो सूचीमा थिइन् । दीपिकाले फिल्म ‘पद्मावत’का लागि ११ करोड भारु पारि श्रमिक लिएकी थिइन् । दीपिकाभन्दा पहिले प्रियंका चोपडा बलिउडकी सबैभन्दा महँगी अभिनेत्रीको सूचीमा थिइन् ।
जयललिताको बायोपिक फिल्मको निर्देशन एएल विजयले गर्दैछन् । विजय दक्षिण भारतीय फिल्मका सफल निर्देशक मानिन्छन् । दुई भाषामा बन्ने यो फिल्ममा जयललिताको जीवनकथा उतारिने छ । जयललिता सिनेमा जगत् र भारतीय राजनीतिको एउटा ठूलो नाम हो । तमिल, तेलुगु र कन्नड फिल्ममा अभिनयसँगै उनी सन् १९९१ देखि २०१६ सम्म तमिलनाडुको सीएम थिइन्। फिल्म तमिलमा ‘थलाइवी’ र हिन्दीमा ‘जया’ को नाममा बन्दैछ ।

