ओखलढुङ्गा नेविसङ्घमा देउवा र पौडेल पक्षका दुई समिति गठन

ओखलढुङ्गा, १० माघ। नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरु बीचको विवादको असर भ्रातृ सङ्गठन नेविसङ्घलाई परेको हो ।

सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट जिल्लामा नेविसङ्घका दुईवटा समिति गठन भएका छन्। संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका हुन् । नेविसङ्घका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द्रीय सदस्य पवन नेपालीले पौडेल पक्षधरका केन्द्रीय सदस्य भीम गौतमले देउवा पक्षका विद्यार्थीको समिति बनाउन केन्द्रीय प्रतिनिधिको भूमिका खेलेकन थिए ।

नेविसङ्घको जिल्ला अधिवेशनका विषयमा आसन र भाषणको विषयलाई लिएर नेताबीच कुटाकुट भएपछि विद्यार्थी पनि विभाजित भएको नेविसङ्घका पूर्वअध्यक्ष विनोद केसीले बताउनुभयो । गाउँ तथा नगर अधिवेशनमा सहमति गरेर १२औँ जिल्ला अधिवेशनमा जुटेका विद्यार्थीहरु पनि नेताहरुले गुटगत व्यवहार गरेपछि आफ्ना नजीकका नेताहरुका पक्षमा उनीहरु लागेका छन् ।

देउवा पक्षका नेविसङ्घमा रोशन महतारा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा रोशन महतारा निर्वाचित भएको घोषणा गरेका छन् । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा महतारा निर्वाचित भएको घोषणा गरेका हुन् ।

महताराको अध्यक्षतामा २४ सदस्यीय नेविसङ्घ जिल्ला कार्य समिति गठन गरिएको काङ्ग्रेस जिल्ला सचिव रुद्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनबाट जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भीष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुइँटेल निर्वाचित भएका छन् ।

पौडेल पक्षका नेविसङ्घमा गोविन्द कोइराला

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा गोविन्द कोइराला निर्वाचित भएको घोषणा गरेका छन् । बुधबार छुट्टै अधिवेशन गरेर कोइरालाको अध्यक्षतामा नयाँ समिति घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा विनोद निरौला, सचिव सुरेश ढुङ्गेल, सहसचिव हरिकुमार लुइँटेल, कोषाध्यक्ष यमुना दाहाल लगायतका १९ सदस्यीय समिति गठन गरेको नेता बालकृष्ण दाहालले जानकारी दिनुभयो । दुवै गुटका नेताहरुले आफ्नो पक्षको समिति वैधानिक र अर्को पक्षको समिति अवैधानिक भनिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here