ऐतिहासिक चैत्राष्टमी मेला शुरु

बागलुङ, ९ चैत- चैते दसैँँका अवसरमा लाग्ने यहाँको ऐतिहासिक चैत्राष्टमी मेला आजदेखि शुरु भएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित मेला पाँच दिनसम्म चल्नेछ । मेलाको पहिलो दिन राष्ट्रिय लोकदोहोरी गीत र भलिबल प्रतियोगिता शुरु भएको छ । भलिबल प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो । उहाँले मेलाले व्यापार, पर्यटन, स्थानीय उत्पादन र संस्कृति प्रवद्र्धनमा टेवा पु¥याउने बताउनुभयो ।

मेलामा विगतमा झैँ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता, भलिबल, छेलो र घैँटो फुटाउने प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शनीका साथै मौलिक कला संस्कृतिको प्रस्तुति पनि राखिने मेला संयोजक राजु खड्काले बताउनुभयो ।

लोक दोहोरी प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५ र रु २५ हजार ५५५ पुरस्कार राखिएको छ । यस्तै, भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख र कालिका कप, दोस्रोलाई रु ५५ हजार र तेस्रो हुनेलाई रु २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट कलाकार, वेशभूषा र खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ । मेलामा २० भन्दा बढी व्यापारिक ‘स्टल’ राखिएको र लाखभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकले जनाएका छन् ।

वर्षौदेखि बागलुङमा चल्दै आएको चैत्राष्टमी मेला देशमै प्रसिद्ध छ । स्थानीय उत्पादन र कला संस्कृतिको प्रदर्शन तथा बिक्रीका हिसाबले पनि मेलालाई महत्वपूर्ण मानिन्छ । चैत्राष्टमीका बेला विशेष पूजाआजा हुने भएकाले बागलुङ कालिका मन्दिरमा पनि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here