काठमाडौं,२० बैशाख–जिल्ला अदालत मोरङमा प्रहरीद्वारा पत्रकारमाथि भएको आक्रमणको पत्रकार महासंघ मोरङ शाखाले विरोध गरेको छ । ३३ किलो सुन तस्करी र हत्याका सम्बन्धमा अभियुक्तहरुलाई प्रहरीले अदालतमा बुझाउने प्रक्रियाको समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि हिजो साँझ आक्रमण भएको थियो ।
सो प्रकरणमा मुछिएका नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेश लोहनीले अदालत परिसरभित्रै महासंघ शाखाका सल्लाहकार अनन्तराज न्यौपाने, शाखा सदस्य ध्रुव भट्टराई, अनिल श्रेष्ठ र सुमन सुस्केरालगायत पत्रकारलाई अश्लील गाली गर्दै लात्तीले प्रहार गरेका थिए ।
गम्भीर अपराध घटनामा मुछिएका अभियुक्तले अदालत परिसरभित्रै पत्रकारमाथि गरेको दुव्र्यबहार र आक्रमणको प्रयास प्रेस स्वतन्त्रतामाथिको हमला भएको महासंघले विज्ञप्ति जारी गरी जनाएको छ ।
घटनाको निन्दा गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन र संप्रेषणको वातावरण तयार गर्न तथा सञ्चारकर्मीमाथि आक्रमण गर्ने अभियुक्तमाथि कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।

