एपीसी नपठाउँदा सशस्त्रले गुमायो ९ करोड

काठमाडौं,८ फागुन–सशस्त्र प्रहरी बलले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) पठाउन नसक्दा ९ करोड रुपैयाँ गुमाएको छ ।

संयुक्त राष्ट्रसंघको मापदण्डअनुरूप तीन वर्षअघि नै पठाउनुपर्ने १२ मध्ये पाँचवटा एपीसी पठाउन नसक्दा वार्षिक तीन करोड रुपैयाँका दरले सशस्त्र प्रहरी बलले यो रकम गुमाएको हो ।

सशस्त्र प्रहरी बलले १२ मध्ये सातवटा मात्र एपीसी पठाएको छ । समयमै थप पाँचवटा एपीसीसहित बन्दोबस्तीका सामान पठाउन नसक्दा संयुक्त राष्ट्रसंघले दिने शोधभर्नाबापतको रकम गुमेको हो । जुन रकम सशस्त्र प्रहरीले कल्याणकारी कोषमार्फत खर्च गर्दै आएको छ ।

समयमै एपीसी नपठाउँदा सशस्त्र प्रहरी बलले करोडौं शोधभर्ना (एपीसी प्रयोग गरेबापत राष्ट्रसंघबाट हुने आम्दानी) मात्र गुमाएको छैन, शान्ति मिसनमा यसअघि प्राप्त गरेको ‘गुडविल’ पनि गुमाउँदै गएको छ । सशस्त्र प्रहरी नेतृत्वको असक्षमताका कारण यो स्थिति आएको हो ।

सशस्त्र प्रहरी अधिकारीहरूका अनुसार महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठ र उनीभन्दा अघिका आईजीपी दुर्जकुमार राई यसमा प्रमुख दोषी छन् । उनीहरूकै असक्षमता र तत्काल निर्णय गर्नसक्ने क्षमता अभावका कारण सशस्त्रले यो क्षति बेहोर्नुपरेको हो । आजको राजधानीमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here