एन्फा अनियमितताको अडियो टेप सार्वजनिक

काठमाडाै‌ ११ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) को यसैवर्ष सम्पन्न निर्वाचनमा भएको भनिएको भ्रष्टाचार र अनियमितताको अडियो टेप सार्वजनिक भएकाे छ ।

अाज राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले एन्फाको वर्तमान नेतृत्वमा रहेका केही व्यक्तिले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेका अनियमितताका विषयमा कुराकानी गरेको अडियो टेप सार्वजनिक गरेका हुन् ।

निर्वाचन आफ्नो पक्षमा पार्न निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, अदालतमा पनि आर्थिक चलखेलमार्फत् प्रभाव पार्न खोजेको, मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचनअघि ठूलो धनराशी खर्चेर मतदातालाई भारतको सिक्किममा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकटमा ठूलो धनराशी खर्चेको लगायतका कुराकानी अडियोमा छ ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष एवं एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुखजु, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा र धादिङका अध्यक्ष दीपक खतिवडाले टेप सार्वजनिक गरेका हुन् । टेप सार्वजनिक गर्ने क्रममा उनीहरुले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखा समिति र राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रमाणसहित उजुरी गर्ने बताए । फिफाको कोड अफ इथिक्सले अडियो रेकर्डलाई पनि प्रमाण मान्ने भएकाले वर्तमान एन्फा नेतृत्व कारवाहीमा पर्ने उनीहरुको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here