काठमाडौं,११ फागुन । ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनमा संलग्न भएको आशंकामा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले बम विस्फोट भएको ठाउँ नजिकैको एनसेल कार्यालयका दुई जना सुरक्षा गार्डलाई पक्राउ गरेको थियो ।
बाँकी ४ जनालाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । यद्यपि उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । विस्फोटमा परी एक जनाको मृत्यु भइसकेको छ भने दुई घाइते भएका छन् । ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का र नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । विस्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको सिसा र नजिकैका ५ घरका सिसामा क्षति भएको छ ।
यसैबीचः ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम विस्फोटमा परेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्दै गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरुको सरकारले उपचार गर्ने बताउनुभयो ।
बम विस्फोटमा घाइते भएकाहरुको अवस्था बुझ्न गृहमन्त्री थापासँगै आइजिपी सर्वेन्द्र खनाल र महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआइजी शैलेश थापा अस्पतालमा पुग्नुभएको थियो ।
शुक्रबार राति भएको बम विस्फोटमा परेर लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका सिंहप्रसाद गुरुङ, ललितपुर बागडोल बस्ने २६ वर्षीया प्रतीक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्स रहेकी २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए । तीमध्ये गुरुङको मृत्यु भइसकेको छ । बाँकी दुई जनाको उपचार भइरहेको छ ।

