एनआरएन अध्यक्ष भट्टले किने निगमको विमान, नामसारी गर्न बाँकी

काठमाडाैं, ३० पुस – गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टले नेपाल एयरलाइन्सको विमान खरिद गर्नुभएको छ । १४ करोड ६० लाखमा अध्यक्ष भट्टले निगमको बोइङ-७५७-२०० किन्नुभएको हो ।

एनआरएनको चुनावको पूर्व सन्ध्यामा डेढ करोड रुपैयाँ बैना गरेका उहाँले लामो समय पछि बाँकी रकम तिर्नुभएको हो । पटक पटक ताकेता गर्दासमेत बाँकी रकम बुझाउन नआएपछि निगमले ४५ दिनको सूचना निकालेर उक्त अवधीमा पनि अनाए बैना रकम जफत गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । निगमले दिएको अन्तिम समयको अघिल्लो दिन बुधबार भट्टको एयरवेज कम्पनी बीबी एयरवेजले बाँकी पैसा तिरेको हो ।

‘बुधबार बीबी एयरवेजले सबै पैसा चुक्ता गरेको छ,’ निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भन्नुभयो, ‘अब हाम्रो नामबाट उहाँको नाममा विमानको नामसारी गर्नका कागजी प्रक्रियाको काम भैरहेको छ ।’ श्रेष्ठका अनुसार अबको केही दिन भित्रै बोइङ-७५७-२०० बीबी एयरवेजका नाममा नामसारी हुनेछ । बोइङ-७५७-२०० मर्मत गरेर चलाउँदा फाइदा हुने नदेखिएपछि निगमले कवाडीको भाउमा बेचेको हो । ‘विमान मर्मतकालागि कति लाग्छ भनेर यकिन त गर्न सकिँदैन तर हामीले अब मर्मत गरेर चलाउनुभन्दा लिलाम गर्न नै फाइदा हुन्छ भनेर कवाडीको भाउमा बेचेका हौं,’ श्रेष्ठले भन्नुभयो ।

८६ हजार ४१० घण्टा उडान भरिसकेको जहाज दुई वर्षदेखि ग्राउन्डेड छ । निगमले तीन दशक अगाडि १ अर्ब ३० करोड रुपैयाँमा उक्त जहाज खरिद गरेको थियो । निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ को नेपाली नाम ‘कर्णाली’ हो । ३० वर्ष भन्दा पुराना विमान राखेर अन्य वायु कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै निगम अहिले नयाँ विमान खरिदमा जुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here