काठमाडौं,२१ मंसिर– सरकारले निर्वाचनमा अप्रिय घटना हुन नदिन गृह मन्त्रालयको नेतृत्वमा सुरक्षा निकायका सबै अंगहरु निर्वाचनमा परिचालन गरेको छ । गृह सचिव सापकोटाले मतदान स्थलमा कुनै अप्रिय घटना घटे तत्काल रेस्पोन्स गर्ने सुरक्षा टिम पनि परिचालन गरिएको बताउनु भयो ।
सरकारले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैबाट सहयोग हुने विश्वास पनि व्यक्त गरेको छ । दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि भोलि सार्वजनिक विदा दिईएको गृह मन्त्रालयले जनाएको छ । आज दिनैभरि सार्वजनिक सवारी र निजी सवारीसाधन चलाउन निषेध गरिएको छ ।
यस्तै, नेपाल प्रहरीले ४५ जिल्लामा आज हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा निर्धक्क भएर सहभागी हुन मतदातालाई आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरी सुरक्षाको सबै प्रबन्ध मिलाएको जनाएको हो । एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनु भयो । सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरको परिचालन र हवाई सुरक्षा गस्तीकोसमेत व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
चुनावमा कहीँ केही भएमा पाँच मिनेटमा सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ । प्रहरीले विस्फोटका घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका हात भएको निष्कर्ष निकाल्दै चन्दको पनि खोजी भइरहेको बताएको छ ।
प्रहरीले निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो ।
नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको छ । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पार्नु भएको छ । निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिनु भयो ।

