एकिकृत शिविरमा पच्चीस सय सहभागी

बनियानी, २६ माघ। झापा अर्जुनधारा–३ का युवराज दुलाल लामो समयदेखि आँखामा समस्या भए पनि उपचारका लागि कतै जान सक्नुभएको थिएन । अर्जुनधारा नगरपालिकाले गाउँघरमै एकीकृत घुम्ती शिविर आयोजना गरेपछि उहाँले आँखा जचाउनाका साथै त्यही मौकामा छोराको फोटोसहितको मतदाता नामावलीमा नाम पनि दर्ता गराउनुभयो ।

उहाँ मात्रै होइन, अर्जुनधारा–३ का पुष्पलाल बाँस्कोटाले पनि आँखाको उपचारसँगै नातिनीको नागरिकता बनाउन पाएकामा दङ्ग हुनुभयो । विभिन्न कारणले उपचार गराउन नपाएका र सरकारी सेवाबाट बञ्चित बृद्ध–बृद्धाले नगरपालिकाले गाउँघरमै एकीकृत शिविर आयोजना गरेपछि स्थानीय सरकारको प्रत्याभूति भएकोे प्रतिक्रिया दिए ।

यस्तो शिविरबाट नागरिकलाई जिल्ला धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको स्थानीय शिक्षक जयप्रकाश भण्डारीले बताउनुभयो । नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको संयोजनमा शुक्रबार सञ्चालित घुम्ती शिविरबाट उक्त नगरपालिकाका वडा नं १, २ र ३ का दुई हजार ५००ले सेवा लिएका थिए ।

शिविरमा एक दर्जनभन्दा बढी विषयगत कार्यालयले नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आँखा तथा स्वास्थ्य परीक्षण, माटो परीक्षण, पशुसेवालगायत सेवा प्रदान गरेका थिए । नगरप्रमुख हरिकुमार राना, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपप्रमुख कमला खतिवडा र वडा नं ३ वडाध्यक्ष जीवकुमार भण्डारीले संयुक्तरूपमा नागरिकता वितरण गरेर शिविर उद्घाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here