काठमाडौं,१७ बैशाख । छिमेकी देश चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार स्वदेश फर्कदै हुनुहुन्छ । ९ दिने भ्रमणका लागि चीनको भ्रमणमा रहेको राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लाग्नुभएको हो । स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी स्वदेश फर्कन लागेको बताइएको छ।
भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना भएको दोस्रो ुबेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनुमा सहभागी हुनुहुभएको थियो ।
भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो। वार्तापछि पारस्परिक सहयोगसम्बन्धी ७ समझदारीपत्रमा हस्ताक्षर भएको थियो। राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उहाँ बैशाख ११ गते चीन प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बैसाख १९ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो। सम्मेलनमा सहभागी हुनकै लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा चीन जानुभएको थियो ।

