‘एकतासँगैं ओली र दाहालले सक्रिय राजनीतिबाट बिदा लिनुपर्छ’

काठमाडौं, १६ पुस – नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सक्रिय राजनीतिबाट बिदा लिन आग्रह दिनुभएको छ ।

काठमाडौंमा एमालेको पेशागत विशेष जिल्ला कमिटिले गरेको कार्यक्रममा नेता भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पार्टी एकताको प्रक्रिया पूरा गरेर राजनीतिबाट बिदा लिन आग्रह गर्नुभयो । पार्टी एकता नागरिकबाट अनुमोदन भइसेकाले अब चाँडै नै एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन ।’ एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताको काँधमा दिएर ओली र दाहालले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानु पर्ने भट्टराईको भनाई छ ।

यस्तै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र कानुनमा रहेको छिद्र खोजेर सत्ता लम्ब्याउन खोजेको बताउँदै बहुदलीय व्यवस्थामा बहुमत ल्याउने पक्षले सरकार बनाउन पाउने भएकाले त्यसका लागि मार्ग प्रसस्त गर्नुपर्ने बताउनुभयो । राष्ट्रलाई एकताबद्ध गरी आइपरेका राजनीतिक समस्या समाधान गर्दै सबै दल मिलेर विकास र समृद्धि उन्मुख हुन नसके मुलुककै भविष्य संकटमा पर्ने दाहालको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here