काठमाडौं, १ फागुन – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि (वान टु वान) वार्ता हुने भएको छ । दिउँसो बस्ने दुई अध्यक्षको दुई पक्षीय वार्ताले पार्टी एकताको ढाँचा टुंग्याउने बताइएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बैठक बस्ने निधो भए पनि समय टुंगो नलागिसकेको जानकारी दिनुभयो ।
पार्टीको नेतृत्व दुवैले, सरकारको नेतृत्व आलोपालो
ओली र दाहालबीच हिजो भएको एक्लाएक्लै वार्तामा दुवैले सहअध्यक्ष लिनेगरी पार्टी एकता गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रुप दिन आज पनि छलफल हुँदैछ । सहमतिअनुसार ओली र दाहाल दुवैले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । यस्तै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको छ ।
सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र ५ वर्ष चलाउने भन्नेबारे कुरा मिल्न बाँकी रहेको नेताहरुको भनाई छ । आज बस्ने ओली र दाहालको छलफलले सबै विषयमा सहमति जुटाउनेछ । नयाँ सरकार गठनअघि नै एकताको खाका टुंग्याउने दुई दलको तयारी छ । आउँदो हप्ताभित्र नयाँ सरकार गठन भैसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरुले बताएका छन् ।

