काठमाडौं, २४ चैत– अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनको टोली आज नेपाल आउने भएको छ । टोलीले नेपाल वायुसेवा निगमसंग जहाज खरिद विक्रिका बारेमा छलफल गर्ने छ ।
निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजको दुई थान वाईड बडी जहाज खरिद सम्झौता यसै साता गर्ने जनाएको छ।
निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।
निगमले हिमालयन बैंकबाट पोर्चुगलको ‘हाइफ्लाई एयरलाइन्स’लाई बैना रकम पठाइसकेको छ । अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले हाइफ्लाई एयरलाइन्सको लागि दुई वर्ष अगाडि नै एयरबस कम्पनीमा अर्डर गरेको थियो ।
निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेसनले पेश गरेको थियो ।
पहिलो जहाज २०७४ असोजभित्रै र दोस्रो जहाज २०७४ को चैतभित्रै ल्याइसक्ने योजना निगमकोे छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरू तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।

