उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग, आजै उम्मेदवारलाई चुनाव चिन्ह

काठमाडौं,८ कार्तिक– निर्वाचन आयोगले पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज अन्तिम नामावली प्रकाशन र दलहरुलाई चुनाव चिन्ह प्रदान गरिने भएको हो ।
त्यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

१ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मंसिर १० गते पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभामा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कुल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here