काठमाडौं, २७ बैशाख– किराती समुदायको महान् चाड ‘उभौली’ पर्व आजदेखि सुरु भएको छ । वैशाखे पूर्णिमादेखि चाड सुरु भएपछि १५ दिनसम्म किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै यो चाड मनाउने गर्छन् । दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराती समुदायले यो चाडलाई आ–आफ्नै भाषाले सम्बोधन गर्छन् ।
पूर्वी पहाडी भेगतिर सघन बसोवास भएका राई, लिम्बू, याक्खा र सुनुवार समुदायले आफूलाई किरातीका रूपमा मान्दै आएका छन् । जसअनुसार यो चाडलाई राईले साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्छन् ।
चाड सुरु भएको दिन ललितपुरको हात्तीवनमा रहेको सामूहिक माङखिम (मन्दिर)मा पूजा गरेपछि साकेला सुरु गरिन्छ । किरातीहरूले बालिनाली लगाउने र उठाउने समयलाई उभौली र उधौलीको चाडका रूपमा मनाउने गर्छन् ।
वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुङ्गी क्रमशः बेँसीबाट लेकतिर सर्ने तथा रूखबिरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उभौली यामका रूपमा लिइन्छ । पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ ।

