काठमाडौं,१५ भदौं– स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ ।
मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै रहेको, अरेवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल आएकाले गएरातीदेखि नै देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी प्रणाली पूर्वदेखि पश्चिमसम्म नै फैलिरहेकाले आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । लगातार पानी परेपछि बाढी तथा पहिरोको जोखिम बढेको भन्दै भिरालो जमिन तथा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन उहाँको सुझाव छ ।
यसैबीच बिहीबार पूर्वी पहाडी र तराईको क्षेत्रबाट बहने साना तथा ठूला नदिमा बाढीको जोखिम बढेको बाढी पुर्वानुमान शाखाले जनाएको छ ।

