उपत्यकाबाट २४ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ, ७ पुस:  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २४ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९३औँ हप्तामा थापाथली र कुपण्डोलस्थित वाग्मती नदीको पुल वरपर सफाइ गरियो । सफाइमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दीनेश थपलिया, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, ललितपुर महानगरपालिका वडा नं २ र १० का अध्यक्ष क्रमशः राजेश महर्जन एवं नरसिंह व्यञ्जनकारसहितको समूह, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ५०० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । प्रशासनिक प्रशिक्षण प्रतिष्ठन जावलाखेलमा तालीम लिइरहनुभएका ९० शाखा अधिकृतको समूह आजको सफाइमा सहभागी भएको थियो ।

ब्लुक्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, प्राकृतिक प्रकोप तथा भूकम्प प्रभावित उद्धार समाज, युरेशिया रेयुकाइ, युएन पार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी वागेश्बोरी, जीवन विज्ञान, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल, हलेशी डेकोरलगायतको सफाइमा संस्थागत सहभागिता थियो ।

मुहानबाट नै वाग्मती सफाइ अभियान सञ्चालन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले २५४ हप्ताको सफाइ गोठाटारस्थित प्रतीक्षालय क्षेत्रमा गरेको सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने करीब दुई मेट्रिकटन फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिकाको वडा नं ८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here