उद्योग नचल्ने भएपछि उखु पेल्दै किसान

बर्दिवास, १९ पुस: पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् ।

जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) ले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीमा कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन् ।

खेतबारीमा खुट्टी उखु (दोस्रो पटकको उत्पादन लिइने उखुबाली) सुक्न लागेपछि बाध्य भएर कोल (उखु पेल्ने घरैया मशिन, तुर्पिन) खोजेर उखु पेल्न थालिएको किसान बताउँछन् । खुट्टी उखु काट्ने समय घर्किनै लाग्दासम्म उद्योग चल्ने छाँटकाँट नदेखिएकाले आफ्नै बस्तीमा तुर्पिन भाडामा लिएर उखु पेल्न थालिएको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान हजारी महतोले बताउनुभयो ।

खुट्टी उखु मङ्सिर दोस्रो सातासँगै काटेर खाली खेतमा हिउँदेबाली लगाउन पर्नेमा यसपालि पुस तेस्रो साता बित्न लाग्दासम्म चिनी मिल नचल्ने छाँट देखिएपछि उखु सुकेर खेरजाने भएकाले पेलेर सख्खर बनाउनु परेको किसानको भनाइ छ । “के गर्नु हजुर, उखु पेल्नु भनेको आफैँ पेलिनुजस्तै हो, भन्या बेला कोल पाइँदैन, कोलको भाडा त्यस्तै महँगो, तर के गरौँ ?” बर्दिवास नगरपालिका–९ पशुपतिनगरका पुराना उखु किसान ७५ वर्षीय नथुनी महतोले भन्नुभयो, “पेलेर सख्खर बनाए केही त हात लाग्ला भनेर पेल्न थालिएको हो ।”

खुट्टी उखु काटेर खाली भएको खेतमा पुस २२ भित्र गहुँ, वैशाखी लहरे तरकारी र घाँसेबाली लगाइसक्नु पर्ने भए पनि उद्योग चल्ने आसमा पर्खदापर्खदै ढिलो हुँदा अब हिउँदे बाली लगाउने समय घर्किने किसान बताउँछन् । “भर्खर पेल्न थाल्यौँ, एक कट्ठाको उखु पेल्न नै तीन÷चार दिन लाग्छ, अब दुई बिघाको उखु कैले पेलीसक्नु ? कहिले खेतबारी खनजोत गरेर नयाँ बाली लगाउनु ?” धमाधम उखु पेलाइमा ब्यस्त रहनुभएका बर्दिवास–१२ बिजलपुराका अर्का किसान रामबिलास महतोले आफ्नो वह पोख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here