काठमाडौं, ५ वैशाख । अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग प्योङयाङमा गोप्य भेटवार्ता गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको पुष्टि गर्दै उक्त वार्ताले राम्रो सम्बन्ध निर्माणमा सहयोग पुर्याएको ट्वीटरमा उल्लेख गरेका छन् ।
अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच हुने प्रत्यक्ष वार्ताको तयारीका लागि पोम्पओ प्योङयाङ गएका थिए ।
यसअघि, ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा प्रत्यक्ष वार्ताहरू भएको स्वीकार गरेका थिए ।
फ्लोरिडामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको बैठकमा उनले वार्ताहरूबारे खुलासा गरेका हुन् ।
किमसँग हुने बैठकका लागि पाँचओटा स्थानबारे छलफल भइरहेकोसमेत ट्रम्पले बताए ।
सन् १९५० देखि १९५३ वर्षसम्म चलेको कोरियाली युद्धको औपचारिक समाप्तीको घोषणा गर्ने शान्ति सन्धिबारे दुई कोरियाबीचको छलफलका लागि शुभकामना पठाएको पनि उनले जानकारी दिए ।
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शासकबीच अहिलेसम्म आधिकारिक भेटवार्ता भएको छैन । अमेरिका र उत्तर कोरियाबीच कुनै राजनीतिक सम्बन्ध छैन ।
उत्तर कोरियाको परमाणु परीक्षणलाई लिएर अमेरिका, संयुक्त राष्ट्रसंघलगायतले कडा नाकाबन्दी लगाएका छन् । एजेन्सी

