इन्धनमाथिको निर्भरता घटाउनु जरुरी-मन्त्री वर्षामान पुन

नवलपरासी, १९ जेष्ठ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताउनुभएको छ ।
नवलपरासी, रामग्राममा स्थापना गरिएको ठूलो क्षमताको वायोग्यास प्लान्टको उद्घाटन गर्दै मन्त्री पुनले वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँबराबरको व्यापार घाटालाई कम गर्न आयातीत इन्धनमाथिको निर्भरता घटाउनु जरुरी हुन्छ भन्नुभयो । जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले सो बायोग्यास प्लान्टको स्थापना गरेको हो ।
उहाँले ठूला क्षमताका वायोग्यास प्लान्टमा निजी क्षेत्रको ठूलो लगानी रहने र उच्च जोखिम पनि हुने हुँदा यसलाई कम गर्न सरकारले पनि सहयोग गर्न नीतिगत व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले फोहरबाट ग्यास निकाल्न सकिने ठूला आकारका वायोग्यास प्लान्ट स्थापनामा प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गर्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नगरपालिकाहरुमा बढ्दो फोहरको समस्या समाधान गर्न यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिए ऊर्जा र वातावरणमा सहयोग पुग्ने बताउँदै देशका विभिन्न ३७ वटा नगरपालिकाले व्यावसायिक ठूला क्षमताका बायोग्यास प्लान्ट गर्न केन्द्रले समझदारी गरिसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here