काठमाडौं,१७ मंसिर– नेपाली काँग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेको छ ।
नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पहिलो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रता लिएको दावी समेत गर्नु भयो ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले दुवै चरणको निर्वाचन सम्पन्न हुँदा काँग्रेसले स्पष्ट बहुमत ल्याउने दावी गर्नु भयो । काँग्रेसले दोस्रो चरणको निर्वाचनमा १ सय २८ सिट मध्ये ७० स्थानमा विजयी हुने आँकलन गरेको छ ।
संयोजक खाँडले पार्टीलाई बहुमत दिलाउने गरी पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एकढिक्का भएर निर्वाचनमा परिचालित भएको दावी पनि गर्नु भयो ।
निर्वाचनविरोधि गतिविधिमा सशस्त्र द्धन्द्धकालीन माओवादीका पूर्व लडाकुहरु आफैं संलग्न रहेको आरोप लगाउँदै उहाँले माओवादीद्धारा प्रशिक्षित पूर्व लडाकुहरु र उनका हतियार तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भयो ।

