काठमाडौं, ११ जेठ– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ ।
आज स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको छलफलमा कार्यक्रममा बोल्दै उहाँले कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि आयोग अघि बढिरहेको बताउनु भयो ।
स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त नभएको भन्दै उहाँले सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउनु भयो । साथै उहाँले आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको बताउनु भयो ।
दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको बताउँदै उहाँले राज्यले निर्वाचनको लागि खटाएको स्थानमा गएर दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरी असल अभ्यास प्रस्तुत गर्न पनि अनुगमनकर्तालाई निर्देशन समेत दिनुभयो ।
पहिलो चरणको निर्वाचन अपेक्षा गरेकोभन्दा निकै शान्तिपूर्ण र व्यवस्थित रुपमा भएको दाबी गर्दै उहाँले निर्वाचनमा अनुगमनकर्ताले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।

