आधुनिक तथा ब्याण्डबाजाका कारण लोप हुँदै दमाहा बाजा 

डोटी, ११ फागुन :आधुनिक तथा ब्याण्डबाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको छ । विवाह, न्वारन तथा विभिन्न देवीदेवताको पूजाआज गर्दा अनिर्वाय रूपमा बजाउनुपर्ने यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने   अवस्थामा पुगेको हो ।
दमाहाको छुट्टै मौलिक महत्व रहिआएको भए पनि युवापुस्ताले बजाउनमा खासै चासो नदिँदा यो पेशा नै सङ्कटमा पर्दै गएको दिपायल पिपल्लाका बासिन्दा दीर्घबहादुर बोगटीले बताउनुभयो । जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने दमाहा बाजा पछिल्लो समय गाउँबाट पनि क्रमिक रूपमा लोप हुने अवस्थामा पुगेको बताइएको छ ।

सुदूरपश्चिमको कला, संस्कृतिसँग जोडिएको दमाहा बाजा लोप हुने अवस्थामा पुगेपछि यहाँका बूढापाका चिन्तित बन्न थालेका छन् । सो बाजाप्रति युवापुस्ताको ध्यानकर्षण गराउन नसक्दा हराएर लोपोन्मुख अवस्थामा पुग्न थालेको केआईसिंह गाउँपालिका–५ का बासिन्दा चक्रराज जोशीले बताउनुभयो ।
नयाँ पुस्तालाई जानकारी गराउनका लागि समयसमयमा स्थानीय कला संस्कृति झल्किने दमाहा बाजासम्बन्धी मेला–महोत्सवको आयोजना गरिनुपर्ने कलाकार सूर्यविरही साउदको भनाइ छ । आधुनिक बाजा भित्रिएका कारण आफूहरुले पुर्खौदेखि बजाउँदै आएको दमाहा बाजा लोप हुने अवस्थामा पुगेको जोरायल गाउँपालिका–५ का दमाहा बाजा बजाउने धनीराम नेपालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here