आज सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाइँदै, टुडिखेलमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौँ, २२ माघ। आज तामाङ समुदायले २८५५औँ सोनाम ल्होछार अर्थात आज देखी सुँगुर वर्ष प्रवेश भएको अवसरमा विविध कार्यक्रमगरी मनाइँदैछ।

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विभिन्न कार्यक्रम गरी मनाइन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्षमा प्रवेश हुन्छ।

मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो ।मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिनुभयो ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ ।

आज टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here