आज विवाह पञ्चमी, रामजानकी मन्दिरमा विशेष मनाइँदै

जनकपुर,७ मंसिर–मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक मनाइँदैछ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव मनाउने गरिएको हो ।

जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । महोत्सवका लागि अहिले त्यहाँ श्रद्धालु भक्तजनको ठूलो भिड लागेको छ ।

जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना पनि भइरहेको छ। त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि आज विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here