काठमाडौं,११ बैशाख । आज लोकतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन माओवादीको सशस्त्र संघर्ष अन्त्यको आधारको रुपमा लिइएको लोकतान्त्रिक जनआन्दोलनबाट देशमा लोकतन्त्र आएको आज १३ वर्ष पुगेको छ । लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाउन लागिएको हो ।
विसं २०६२–०६३ को आन्दोलन, २०६३ साल वैशाख ११ गते संसद पुनःस्थापना भएपछि सम्पन्न भएको थियो । नेपालमा दश वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।
आन्दोलनको जगमा तत्कालीन नेकपा (माओवादी) र सरकारबिच विस्तृत शान्ति सम्झौता सम्पन्न भई जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।

