आज लक्ष्मी पुजा, घरघरमा दिपावलीगरि मनाइँदै

काठमाडौं,२ कार्तिक– यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पुजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने प्रचलन रहेको छ ।
लक्ष्मी पुजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पुजाका लागि आज साँझ आँगनदेखि मुलढोका हुँदै लक्ष्मी स्थापना गरी पुजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली वनाउने गरिन्छ ।  दीपावली गरिसकेपछि पुजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपुर्वक लक्ष्मीको पुजा गरिन्छ ।
लक्ष्मी पुजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पुजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ ।

आज घरमा लक्ष्मीपुजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहेको छ । लक्ष्मी पुजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here