आज भानुजयन्ती, विभिन्न कार्यक्रमगरि मनाइँदै

काठमाडौं,२९ असार ।  २०६ औँ भानु जन्म जयन्ती आज,विविध कार्यक्रम गरी मनाइँँदै छ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा वि.सं.१८७१ असार २९ गते भएको थियो । धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो ।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा लेख्नु भएको थियो । रामायण लगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपाली भाषी माझ लोकप्रिय छन् ।
उहाँको निधन १९२५ मा भएको थियो । भानुजयन्तीको अवसरमा भानु नेपाल प्रज्ञा प्रतिष्ठान लगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले आज विभिन्न कार्यक्रम गर्दैछन् । नेपाल लगायत भारतमा नेपाली भाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष किसिमले मनाउने गरिन्छ ।

यसैबीच, तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मान स्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिनु भएको छ । उहाँले भानुभक्तको कविता अंश उद्धृत गर्दै ट्विट मार्फत शुभकामना दिनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here