काठमाडौं,२८ कार्तिक– एएफसी एसियाकप २०१९ को छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्ने भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
यसअघि गत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित भएको थियो । त्यसपछिका तीन खेलमा पनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ ।
नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेता पनि त्यसपछिका दुई खेलमा ताजीकिस्तानसँग पराजित भएको थियो ।
यसअघि चार खेलेको फिलिपिन्स ८ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ ।
त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल अन्तिम स्थानमा छ ।

