आज दिउँसो पाइपलाइनबाट इन्धन अमलेखगञ्ज आइपुग्ने

काठमाडौं,३ साउन ।  भारतबाट पाइपलाइन मार्फत पठाइएको इन्धन आज दिउँसो बाराको अमलेखगञ्ज आइपुग्ने भएको छ । परीक्षणको रुपमा पाइपलाइनबाट पठाइएको इन्धन दिउँसो बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा आइपुग्ने इञ्जिनियर शरद पौडेलले जानकारी दिनुभयो ।

परीक्षणका लागि हिजो पाइपलाइनमा भारतको मोतिहारीबाट एक सय ५० किलो लिटर डिजेल पठाइएको थियो । पाइपलाइनमा भएको हावाको चाप निकाल्न डिजेलभन्दा अघि एकसय ५० किलो लिटर पानी पनि पठाइएको थियो ।

परीक्षण जाँचका लागि भारतीय आयल निगमका १५ जना प्राविधिकको टोली अमलेखगञ्ज आयल निगमको डिपोमा काम गरिरहेका छन् । परीक्षण सफल भएपछि दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेर पाइपलाइनबाट औपचारिक रुपमा इन्धन ल्याउने काम सुरु गरिने आयल निगमले जनाएको छ ।

यसैबीच, ट्याङ्कर चालकहरुको आन्दोलनका कारण दाङमा एक सातादेखि पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । तापक्रमको कारण पेट्रोलियम पदार्थमा घट्ने हुँदा आफुहरुले घाटा ब्यहोर्न परेको भन्दै चालकहरु गत असार २६ देखि आन्दोलन उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here