काठमाडौं, ५ असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता विरुद्ध दावी विरोध गर्ने समय दिएको छ ।
हिजो दर्ता गराएका मनोनयनविरुद्ध दावी विरोधका लागि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आजै निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच र उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
यस्तै भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने, भोलि नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
आगामी १४ असार गते दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि १४ असारमा मतदान हुँदैछ । ती स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन्।
३५ जिल्लाका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । निर्वाचनमा ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहनेछन् ।
मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने निर्वाचन आयोगले जनाएको छ ।

