आजदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न शुरु

काठमाडौं, ५ भदौं– यातायात व्यवस्था विभागले आजदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ । आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सवारीमा विद्युतीय नम्बर प्लेट राख्ने कामको शुभारम्भ गर्नुहुने कार्यक्रम छ ।

सवारी साधनमा विद्युतीय नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा टोकराज पाण्डेलेलाई जानकारी दिनुभयो । उहाका अनुसार इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी ४ प्रकारका हुनेछन् ।
विद्युतीय नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिने र उक्त सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका ५ नाका र उपत्यका बाहिर ५ स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिने प्रवक्ता पाण्डेले बताउनुभयो । सवारीमा विद्युतीय नं प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिनेछ ।
यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नं प्लेट राख्ने विभागको योजना छ ।
नम्बर प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि ३ हजार ६ सय, मझौला चारपांग्रे सवारीका लागि ३ हजार २ सय, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि २ हजार ९ सय र मोटरसाइकललगायत सवारीका लागि २ हजार ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here