आजदेखि मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क

काठमाडौं, १ बैशाख– सरकारले आजबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने भएको छ । त्यसकालागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरिसकेकोछ ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र,वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न एक करोड ५० लाख रुपियाँ छुट्याएको जानकारी दिँदै मन्त्री थापाले आगामी आर्थिक वर्षका लागि फेरि बजेट विनियोजन गरिने जानकारी दिनुभयो । सरकारले यसअघि नै मिर्गौला बिरामीका लागि निःशुल्क डायलासिसको व्यवस्था गरिसकेको छ ।
निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि कार्यविधि बनिसकेको जानकारी दिँदै मन्त्री थापाले स्थानीय निकायको सिफारिसको आधारमा निःशुल्क प्रत्यारोपण गरिने बताउनुभयो ।
मन्त्री थापाले, गाविस र जिल्लाको निवेदन लिएर आउने सबैको प्रत्यारोपण गरिने बताउनुभयो । मिर्गौलाको प्रारम्भिक परीक्षणका लागि भने सरकारले खर्च नव्यहोर्ने उहाँले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणको लागि अस्पतालमा भर्ना भएको दिनदेखि शल्यक्रिया गरेर सात दिनसम्मको औषधि सरकारले निःशुल्क व्यहोर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here