काठमाडौं,जेठ १०—साझा यातायातले आजदेखि भक्तपुरमा साझा बस सञ्चालनमा ल्याएको छ। भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बस सेवा सञ्चालनमा ल्याएको हो।
भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो। साझा यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्य्विनायकसम्म आज बिहान साढे ६ बजेदेखि २० वटा बस सञ्चालनमा ल्याएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो। आज बिहान साढे ६ बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझा बस छुटेको थियो।
साझाले प्रत्येक दिन बिहान साढे ६ बजेदेखि देखि राति ९ बजेसम्म सेवा दिनेछ ।साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्य्विनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गरेको हो ।
स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४४ वटा बसलाई व्यवस्थापन गरेर भक्तपुरसम्म लैजान लागेको कार्यकारी निर्देशक पाण्डे बताउनुभयो ।

